विद्युत कटौतीको विरोधमा नेविसंघ गैंडाकोटद्धारा ज्ञापन पत्र पेश - समृद्धि खबर

Pages

Breaking

Friday, August 7, 2020

विद्युत कटौतीको विरोधमा नेविसंघ गैंडाकोटद्धारा ज्ञापन पत्र पेश

समृद्धि खबर, गैंडाकोट । 

गैंडाकोट नगरपालिका आसपासका क्षेत्रमा पटक–पटक विद्युत कटौती भएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) पालिका समन्वय समिति गैंडाकोटले विरोध जनाउँदै नेपाल विद्युत प्राधिकरण गैंडाकोट प्रशाखालाई ज्ञापन पत्र पेश गरेको छ । नेविसंघ गैंडाकोटका संयोजक रमेश कोइराला सहितको समुहले प्रशाखा प्रमुख सुजन रिजाललाई कार्यालयमा पुगेर ज्ञापन पत्र वुझाउँदै पटक–पटक विद्युत सेवा अवरुद्ध हुँदा परेको समस्याको अवगत गराएका हुन् ।


सोहीक्रममा उनीहरुले आगामी दिनमा विद्युत लाईन नकाट्न आग्रहसमेत गरेका छन् । विश्वभर फैलिएको कोभिड १९ को महामारीले कष्टपुर्ण तरिकाले अनलाइनबाट पढ्न बाध्य भएका विद्यार्थीहरुलाई पटक–पटकको विद्युत कटौतीले थप समस्या भएको भन्दै नेविसंघको ध्यानाकर्षंण भएको संयोजक रमेश कोइरालाले बताउनुभयो ।


कहि नभएको जात्रा हाडी गाउँमा भने जस्तै गैंडाकोटमा मात्र विद्युत काटिरहनु आश्चर्य भएको र लाईन किन आएन भनी बुझ्न टेलिफोन गर्दा फोन सम्पर्क हुन नसक्ने र टेलिफोन उठाएर जानकारी दिएपनि कर्मचारीले हलुका जवाफ दिएको विद्यार्थीहरुको गुनासो थियो । आगामी दिनमा त्यसो नगर्न विज्ञप्ती वुझाउँदै विद्यार्थीहरुले टेलिफोन २४ सै घण्टा सुचारु हुुनुपर्ने र लाईन नआउनुको कारण गम्भिरता पूर्वक कर्मचारीहरुले सेवाग्राहीलाई जवाफ दिनुपर्ने माग गरेका छन् ।


दैनिक जिवनसँग प्रत्यक्ष जोडिएको विषयमा प्रशाखाले जतिसक्दो चाँडो समस्याको समाधान गर्दै यो गर्मीको समय जनतालाई समस्यामा नराख्न आग्रह गरेका छन् । साथै विद्युत आउने जाने कारण भोल्टेजको उचारचढावले घरायसी विद्युतीय उपकरणमा समेत क्षति पुगेको भन्दै समस्याको समाधान खोज्न आग्रह गरिएको छ । राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकतालाई आफ्नो मुल मन्त्र मान्दै आएको नेविसंघ स्थापना कालदेखिनै विद्यार्थीको समस्यामा निरन्तर वोल्दै आएको भन्दै समस्यालाई गम्भीरतापूर्वक लिन प्रशाखालाई आग्रह गरिएको छ ।


ज्ञापन पत्र वुझ्दै प्रशाखा प्रमुख सुजन रिजालले विभिन्न कारणबाट उत्पन्न समस्याका कारण लाइन अवरुद्ध भएको भन्दै वास्तविक समस्याबारे विद्यार्थीहरुलाई जानकारी गराउनुभएको थियो । अहिले कार्यालयमा एउटा मात्रै टेलिफोन सेट रहेको साथै गंैडाकोटमा एउटा मात्रै फिडरबाट विद्युत आपूर्ति भएको जानकारी दिनुभयो । एउटै लाइन हुँदा कहिँ समस्या आए सवै लाईन कटौति गरी मर्मत गर्नुपर्ने वाध्यताका कारण समस्या भएको बताउनुभयो । ११ हजार भोल्टेजलाई विभिन्न ठाउँमा जंगलको क्षेत्रहुँदै लैजादा थप समस्या आएको जनाउँदै फल्ट हुन नदिन आफूहरु सदैव सचेत रहेको बताउनुभयो ।


सडकको दुईतर्फ विद्युत लाइनबाट गंैडाकोट क्षेत्रमा सेवा दिने उद्देश्यले पोल गाड्दा स्थानीयले अवरोध गरेका कारण समस्या बढेको रिजालले बताउनुभयो । दुई तिरबाट विद्युत आपुर्ति गर्ने आफूहरुको योजना र बजेट समेत पारेर दुख गरी कार्यक्रम ल्याउँदा स्थानीयले अवरोध गरेपछि समस्या बढेको उहाँले बताउनुभयो । 


कार्यक्रममा नेबिसंघका जिल्ला अध्यक्ष राजेश पौडेल, नेबिसंघ पुर्वकेन्द्रिय सदस्य गोकुल सापकोटा, पुर्व उपाध्यक्ष बद्री सापकोटा, जलुके खानेपानीका अध्यक्ष मोतिचन्द्र चालिसे, सचिव बिष्णुप्रसाद पङ्गेनी, मौलाकालीका मन्दिरका उपाध्यक्ष खगराज कंडेल ,नेबिसंघ जिल्ला सचिव सुशील काफ्ले, सहसचिव विवेक न्यौपाने, धारापानी टोलबिकास संस्थाका अध्यक्ष ठाकुर सापकोटा, तरुण दलका नेता लक्ष्मण कार्की, गजेन्द्र वन, नेबिसंघ जिल्ला सदस्य श्याम बन, सन्देश पराजुली, नगर सदस्य पुरुषोत्तम काफ्ले, योगेश कोइराला, बिराट सापकोटा, अक्ष पराजुली, बिनोद गिरीलगायतको उपस्थिति रहेको थियो । 


प्रकाशित मिति ः २२ साउन २०७७ । 


No comments:

Post a Comment

Post Bottom Ad