गैंडाकोट नगरपालिकामा मनाइयो धान दिवस (फोटो फिचर) - समृद्धि खबर

Pages

Breaking

Monday, June 29, 2020

गैंडाकोट नगरपालिकामा मनाइयो धान दिवस (फोटो फिचर)

पूर्णप्रसाद खराल राजन, १५ असार,

गैंडाकोट । मानो रोपेर मुरी उब्जाउने असारको मध्य दिन आज धान दिवससँगै रोपाइँ महोत्सव गैंडाकोट नगरपालिकामा पनि मनाइएको छ । गैंडाकोट नगरपालिका र हरिहर सन्यास आश्रम देवघाटधामको संयुक्त आयोजनामा गैंडाकोट १२ स्थित आश्रमको गुठि जग्गामा धान दिवस तथा रोपाइँ महोत्सव गरीएको हो । सोहीक्रममा यस नवलपुर र देवघाटधामका धर्मावलम्बी महानुभावहरुले ४ विघाभन्दा बढि क्षेत्रमा रोपाइँसमेत गर्नुभएको थियो । 


कार्यक्रममा प्रमुख व्यक्तित्व देवघाटधाम स्थित हरिहर सन्यास आश्रमका पिठाधिस १००८ स्वामी ज्ञानानन्द सरस्वती जी महाराजले धर्म र संस्कृतिले मात्र मानिसलाई मुक्ति दिने भन्दै यसको महिमा बुझ्न सबैमा आग्रह गनुभयो ।

 कार्यक्रममा कृषक दाजुभाई दिदीबहिनीलाई उत्प्रेरणा दिने उद्धेश्यले गैंडाकोट नगरपालिकाका नगर–प्रमुख छत्रराज पौडेल, उपप्रमुख विष्णुकुमारी कंडेल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, अधिकृत दुर्गादत्त भुषाललगायत विभिन्न वडाका वडा अध्यक्ष र सदस्यहरुको उपस्थिति रहेको थियो ।  

कोभिड १९ लाई मध्यनजर गर्दै कुनै पनि औपचारिक कार्यक्रमको नगरिएको कार्यक्रममा धार्मिक गुरु, सन्त, धर्मावलम्बिलगायतको उपस्थिति रहेको थियो । 



सोही अवसरमा स्थानीय महिला दिदीबहिनीहरु सामाजिक दुरीलाई समेत मध्यनजर राख्दै एक आपसमा हिलो खेल्नुका साथै सामुहिकरुपमा दहि चिउँरा, केरा जस्ता परिकार खाइएको थियो । असार १५ मा सदिऔं देखि नै दही, चिउरा खाने गरिन्छ । खेतमा आली लगाउने, वाउसे गर्ने, पानी पटाउने जस्ता कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने जनविश्वास छ ।  खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरूले पनि आज दही च्यूरा खाइ असार १५ मनाउँदैछन  ।



कृषकका पक्षमा काम गछौं :  नगर–प्रमुख पौडेल

गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले नगरपालिकाले कृषिको क्षेत्रलाई प्राथमिकता दिएको बताउनुभएको छ । सोमबार धान दिवस तथा रोपाइँ महोत्सब कार्यक्रमको समापन पछि यस क्षेत्रका सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै आफ्नो नेतृत्वको नगरपालिकाको टिमले कृषि र पशुपालनलाई प्रमुख प्राथमिकता दिएको बताउँदै आएको बताउनुभयो । उहाँले केहि बाधा व्यवधानका कारणले सोचे जति उपलब्धि नभए पनि सन्तोषजनक नतिजाउन्मुख बनेको दाबी गर्नुभयो । 

अहिले पनि नगरपालिका केहि तरकारी : च्याऊ, दुुग्ध जस्ता कुरामा आत्मनिर्भर बनेको दाबी गर्दै अन्य खाद्य्यवस्तुमा समेत हुँदै जाने विश्वास दिलाउँनुभयो ।  उहाँले १७ वर्ष पछि भएको स्थानीय निर्वाचन पछि नगरबासीका धेरै अपेक्षाहरु रहेका कारणले सबै आकांक्षाहरु एकैसाथ पुरा गर्न नसके पनि क्रमिक रुपमा पुरा हुनसक्ने विश्वास व्यक्त गर्नुभयो । 


फरक प्रसङ्गमा उहाँले नगरपालिकामा बाँझो जग्गा नराख्ने अभियान चलाएकै कारण धेरै बाँझो रहेको क्षेत्रफल अहिले उत्पादन उन्मुख बनिसकेको बताउनुभयो । अब दुग्धको उत्पादनलाई सदुपयोग गरी पशुपालक किसानलाई लाभान्वित बनाउन दुग्धका परिकार बनाउने उद्योग स्थापनाका लागि पहल गर्ने बताउनुभयो । 



७० प्रतिशत रोपाइँ सकियो ः शाखा प्रमुख शर्मा


यसैबीच गैंडाकोट नगरपालिका भित्र करिब ७० प्रतिशत रोपाइँ सकिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ । वडागत रुपमा प्राप्त जानकारी र अवलोकनका क्रममा करिब ७० प्रतिशत रोपाइँ सकिएको कृषि शाखाका प्रमुख तथा कृषि अधिकृत राजुप्रसाद शर्माले बताउनुभएको छ । सोमबार समृद्धि खबर पत्रिकासँगको छोटो कुराकानीकाक्रममा अधिकृत शर्माले नगरपालिका भित्र प्लटिङका कारणले केहि वर्ष यता मासिदैं गएको प्रति चिन्ता व्यक्त गर्दै यसको संरक्षण र उत्पादन वृद्धि गर्न तर्फ ध्यान दिन आग्रह गर्नुभएको छ । 



नेपालले २०६१ सालदेखि असार १५ लाई धान दिवसका रूपमा मनाउँदै आएको छ । धान दिवसको अवसरमा गैंडाकोट नगरपालिकामा समेत विशेष रोपाइँ महोत्सव गर्ने गरिएको छ । धान नेपालको प्रमुख खाद्यान्न बालीमा पर्दछ । 


 (फोटो फिचर) :


No comments:

Post a Comment

Post Bottom Ad