गैंडाकोटको सातौं नगरसभामा नीति, कार्यक्रम र बजेट प्रस्तुत/ आगामी आवमा ७१ करोड बढिको बजेट - समृद्धि खबर

Pages

Breaking

Wednesday, June 24, 2020

गैंडाकोटको सातौं नगरसभामा नीति, कार्यक्रम र बजेट प्रस्तुत/ आगामी आवमा ७१ करोड बढिको बजेट

समृद्धि खबर, १० असार, 

गैंडाकोट । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाको सातौं नगरसभामा आगामी आर्थिक वर्ष २०७७–२०७८ को लागि नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ । नगरसभामा कोरोना भाइरस (कोभिड १९)को महामारी रोकथाम, नियन्त्रण र न्यूनिकरणलाई प्राथमिकता दिएको नीति तथा कार्यक्रम  नगरप्रमुख छत्रराज पौडेलले प्रस्तुत गर्नुभएको थियो । 


कार्यक्रममा प्रमुख पौडेलले, समृद्ध गैंडाकोट महाअभियानको तीव्रताका साथ निरन्तरता, हरियाली नगर कार्यक्रम, १–घर १–विरुवा तथा १–वडा १–हरियाली पार्क सञ्चालन कार्यक्रम, बाँझो जग्गारहित नगर, मेरो फोहोर मेरै व्यवस्थापन, एक सामुदायिक वन एक जलाधार, जनताको घरदैलोमा मेयर कार्यक्रम, महिलासँग उपमेयर कार्यक्रम, कृषिमैत्री गैंडाकोट निर्माण, गरिबीमुक्त गैंडाकोट, एक सहकारी एक उद्यम कार्यक्रम, एक वडा एक विशिष्ट कार्यक्रमलगायतका कार्यक्रमहरु अघि सानुभएको छ । 

यस्तै केहि दिर्घकालिन महत्वका कार्यक्रमहरुले निरन्तरता पाएको नगरप्रमुख पौडेलले बताउनुभयो । समृद्ध गैंडाकोट बनाउन केहि नयाँ कार्यक्रमका साथै दिर्घकालिन कार्यक्रमको निरन्तरतातर्फ ध्यान दिएको उहाँले सभा पछिको प्रतिक्रियाका क्रममा जानकारी दिनुभएको थियो ।

यस्तैगरी नगरपालिकाले तीव्रताका साथ उत्पादनमुखि कार्यक्रमलाई प्राथमिकता दिंदै जाने, सुन्दर नगरी गैंडाकोट बनाउन छिमेकी भरतपुर महानगरपालिकाबाट समेत सिकाई र समन्वय गर्ने, कृषकहरुलाई सहायता दिन विभिन्न कार्यक्रमलाई प्राथमिकता दिएको बताउनुभयो । यस्तै नगरको विकास निर्माणका लागि संघीय सरकार र प्रदेस सरकारसँग पूर्ण समन्वय भइरहेको उहाँले प्रतिक्रिया दिनुभएको थियो ।

नगरसभामा आगामी आर्थिक वर्ष २०७७–२०७८ का लागि ७२ करोडभन्दा बढिको बजेट प्रस्तुत गरिएको थियो । उपमेयर विष्णुकुमारी कंडेलले सभाका क्रममा ७२ करोड ३२ लाख ४ सय ९७ रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो । 


नगरसभामा आर्थिक कार्यविधि, आर्थिक विधेयक- २०७७, विनियोजन विधेयक- २०७७ समेत प्रस्तुत भएको थियो । यसै बीच बजेट र नीति तथा कार्यक्रम माथिको छलफल र धारणा राख्ने कार्यक्रम आगामी असार १६ गते दिनको २ बजे पछि गरिने नगरप्रमुख पौडेलले जानकारी दिनुभएको छ ।  


नगरसभामा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, नगर भित्रका सबै वडाका वडा अध्यक्ष, नगरसभा सदस्य, सञ्चारकर्मी, कर्मचारी लगायतको सहभागिता रहेको थियो । 





No comments:

Post a Comment

Post Bottom Ad