नवलपरासीको किसान साकोसले यस वर्ष रजत महोत्सव मनाउँदै - समृद्धि खबर

Pages

Breaking

Tuesday, June 30, 2020

नवलपरासीको किसान साकोसले यस वर्ष रजत महोत्सव मनाउँदै

"वर्षभरी गरिने कार्यक्रम सार्वजनिक" ,

पूर्णप्रसाद खराल राजन, गैंडाकोट ।  किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोटले यस वर्ष रजत महोत्सव मनाउने भएको छ । सहकारीको केन्द्रिय कार्यालय गैंडाकोटमा एक कार्यक्रमको आयोजना गरी यस वर्षभरी नै मनाउने  ‘किसान साकोस रजत महोत्सव बर्ष–२०७७’ घोषणा तथा लोगो अनावरण गरेको हो । 


संस्थाको सभाहलमा आयोजित कार्यक्रम संस्थाका अध्यक्ष श्रीहरि चालिसेको अध्यक्षता तथा गैंडाकोट नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष एवं संस्थाका संस्थापक सदस्य डिलाराम रिजालको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रिजालले रजत वर्षको लोगोको अनावरण गरी कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत नविन सापकोटाले संस्थाको स्थापना कालदेखिको विकास क्रमलाई स्मरण गर्दै हालसम्मको वित्तिय अवस्थासमेत प्रस्तुत गर्नुभएको थियो ।


 संस्थामा करिब ६० हजार सेयर सदस्य र दुई अरव भन्दा वढीको पूँजी परिचालन गर्दै सदस्यहरुलाई वित्तिय तथा गैर वित्तिय सेवा प्रदान गरिएको प्रमुख कार्यकारी अधिकृतले जानकारी दिनुभएको थियो ।


 कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष कृष्णप्रसाद शर्माले २५ जनाको समूहवाट शुरु भएको संस्था अहिले नवलपरासी, चितवन हुँदै तनहँु जिल्लासम्म सेवा प्रदान गर्दै देश विदेशमासमेत ख्याती प्राप्त गर्न सफल भएकोमा खुसी व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका सल्लाहकार एवं समाजसेवी मदनभक्त अधिकारी, संस्थाका पूर्व अध्यक्ष एवं नवलपरासी जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष माधवप्रसाद गौतम, निर्वतमान अध्यक्ष गोपालप्रसाद गौतम, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक चिन्तामणि कण्डेलले संस्थाले सदस्यलाई प्रभावकारी सेवा प्रदान गर्दै आईरहेकोमा धन्यवाद दिँदै हाल विश्वमै फैलिरहेको कोरोना भाइरसको असर र आगामी दिनमा आउन सक्ने प्रभावलाई समेत मध्यनजर गर्दै थप सेवा स्तरोन्नति गर्नुपर्नेमा बताउनुभयो ।



संस्थाले हालसम्म २५ वटा संस्थासँग एकीकरण गरी एकिकृत सेवा प्रदान गर्दै आएकोमा यस रजत वर्षको कार्यक्रम सम्पन्न गर्न संस्थाका अध्यक्ष श्रीहरि चालिसेको संयोजकत्वमा सञ्चालक समिति र सेवाकेन्द्र संयोजकहरु सदस्य तथा प्रमुख कार्यकारी अधिकृत नवराज सापकोटा सदस्य सचिव रहने गरी रजत महोत्सव मूल समारोह समिति गठन भएको छ ।


रजत जयन्तीका अवसरमा संस्थाले सदस्यस्तरीय कार्यक्रम, वाल सदस्यस्तरीय कार्यक्रम, अन्तर सहकारी संस्था, सामाजिक उत्तरदायित्व एवं मानविय कृयाकलाप कार्यक्रम, सञ्चालक एवं कर्मचारी स्तरीय, विद्यालय स्तरीय, एकिकरण संस्था सम्मान र स्थापनाकाल सदस्य सम्मान, किसान सहकारी राष्ट्रिय पुरस्कार वितरण, स्तम्भ अनावरण, रजत स्मारिका प्रकाशन, ज्येष्ठ, नागरिक, एकल महिला स्तरीय कार्यक्रम, खेलकुद तथा साहित्यिक कार्यक्रम, वृत्तचित्र प्रर्दशनी कार्यक्रमलगायत रहेको अध्यक्ष चालिसेले जानकारी दिनुभएको छ । 


अहिले कोभिड १९ को महामारीका कारण कार्यक्रमका क्षेत्रहरुमात्र सार्वजनिक गरीएको संस्थाका सचिव अनिल सापकोटाले बताउनुभयो । उहाँले रजत जयन्ती मनाउनका लागि मूल समिति निर्माण भइसकेको बताउँदै आवश्यक उपसमितिहरु निर्माण गरिने बताउनुभयो । 


सामाजिक दुरी कायम गर्दै न्युन उपस्थितिका बीच सञ्चालित घोषणा कार्यक्रममा संस्थाका उपाध्यक्ष भोजराज पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजिकरण सचिव अनिल सापकोटाले गर्नुभएको थियो । 



प्रकाशित मितिः १५ असार २०७७ ।




No comments:

Post a Comment

Post Bottom Ad