गैंडाकोट ११ नगरपालिकाकै दोस्रो बालमैत्री वडा बन्दै - समृद्धि खबर

Pages

Breaking

Sunday, December 22, 2019

गैंडाकोट ११ नगरपालिकाकै दोस्रो बालमैत्री वडा बन्दै

" घोषणाको तयारी तीव्र "


पूर्णप्रसाद खराल राजन,  गैंडाकोट।  गैंडाकोट नगरपालिका वडा नंं. ११ लाई बालमैत्री वडा घोषणा गरिने भएको छ । वडालाई गैंडाकोट नगरपालिकाको दोस्रो बालमैत्री वडाका रुपमा यही पौष ११ गते शुक्रबार बालमैत्री वडा घोषणाको तयारी भएको हो । वडाले बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति र कार्यान्वयका कार्यविधि २०६८ ले निर्दिष्ट गरेका बालअधिकार सम्बन्धी ३९ वटा सूचक एवं थप ३ वटा स्थानीय सूचकहरुमा उपलब्धी हासिल गरी नगरपालिकाकै दोस्रो बालमैत्री वडाका रुपमा घोषणा हुन लागेको हो । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमका बीच आउँदो शुक्रबार वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको बालमैत्री वडा स्थानीय शासन वडा समितिका अध्यक्ष एवं गैंडाकोट ११ का वडा अध्यक्ष गोविन्दप्रसाद सुवेदीले जानकारी दिनुभएको छ । 

वडाले निरन्तररुपमा विभिन्न गतिविधि गर्दै बालमैत्री वडाको घोषणा गर्न आवश्यक सूचकहरु पूरा गरेको अध्यक्ष सुवेदीले जानकारी दिनुभएको छ । बालमैत्री वडा घोषणा गर्न आवश्यक तयारीलाई अहिले तीव्ररुपमा अघि बढाइएको छ । घोषणाका लागि वडामा नियमितरुपमा छलफललगायत आन्तरिक तयारीका कार्यलाई अहिले तीव्र्र गतिमा सञ्चालन गरिएको अध्यक्षले जानकारी दिनुभएको छ । 

वडाले पूरा गरेका मापदण्डको बारेमा वडा अध्यक्ष सुवेदीले सञ्चारकर्मीसँग प्रगति विवरण बारे सार्वजनिक गर्नुभएको थियो । शनिबार समृद्धि खबरलाई बालमैत्री अभियानको बारेमा जानकारी दिँदै उहाँले वडा नंं. ११ मा बालबालिकाहरुको जन्मदर्ता सम्पूर्णरुपमा भएको, बाल–विवाह नभएको, बालश्रम कुनै पनि नरहेको छ, भेटिएको स्थानमासमेत गएर समस्या समाधान गरेको, बालबालिकालाई कुनै पनि हिंसाको सिकार नबनाइएकोलगायतका सूचकहरुको बारेमा जानकारी दिनुभएको थियो । 

त्यसैगरी बालसंरक्षण सम्बन्धित समुदायमा आधारित कार्यक्रमहरु सञ्चालन भइरहेको र उनीहरु लाभान्वित भएको उहाँले जानकारी दिनुभयो । यस्तैगरी सुवेदीले वडा भित्र दुव्र्यसनीबाट बालबालिकाहरु बाहिर रहेको, वडामा ४ वर्षसम्मका बालबालबालिकाहरु प्रारम्भिक बाल कक्षामा भर्ना भएको, उमेर पुगेका बालबालिकाहरु सबै विद्यालय भर्ना भएको र आधारभूत शिक्षा पाएको, औपचारिक शिक्षा प्राप्त गर्न नसकेका बालबालिकाहरुका लागि अनौपचारिक शिक्षा प्राप्त गर्ने मौका प्रदान गरेको, सबै विद्यालयमा छात्र–छात्राको लागि शौचालयको व्यवस्था गरिएको, अपाङ्गमैत्री विद्यालयको हकमा सूचकलाई पूरा गर्न सफल भएको पनि बताउनुभएको थियो । 

यसैगरी स्थानीय तहको निर्णय प्रक्रियामा बालबालिकालाई सहभागी गराइएको, स्थानीय तहले सञ्चालन गर्ने योजना तथा कार्यक्रममा बालबालिकालाई सक्रिय सहभागिता रहेको, वडाभित्र कूल ११ वटा बालक्लब र बाल सञ्जाल गठन गरिएकोलगायतका बालमैत्री वडा घोषणा गर्नको लागि आवश्यक मापदण्ड पूरा गरेको अवस्थाको बारेमा जानकारी दिनुभएको थियो । 

बालमैत्री अभियानका क्रममा वडाभित्र अवस्थित सबै विद्यालयहरुले सक्रियरुपमा भूमिका निर्वाह गरेको यस्तै अन्य सामाजिक संघ–संस्था, सामाजिक कार्यकर्ताले निरन्तररुपमा सहयोगी भूमिका खेलिरहेको वडा कार्यालयले जनाएको छ । घोषणा समारोहमा उपस्थितिका लागि जिल्ला स्थित ३ वटै तहका जनप्रतिनिधिलगायत विभिन्न सामाजिक संघसंस्था र वडावासीलाई निमन्त्रणा गरिएको वडा कार्यालयले जनाएको छ । 





No comments:

Post a Comment

Post Bottom Ad