साहित्यकार श्रमजीवीको कृति ‘जीवनयात्राका अनुभूतिहरु’ को विमोचन - समृद्धि खबर

Pages

Breaking

Tuesday, December 10, 2019

साहित्यकार श्रमजीवीको कृति ‘जीवनयात्राका अनुभूतिहरु’ को विमोचन

गैंडाकोट, २४ मंसिर । 

कवि चिन्तामणी सापकोटा ‘श्रमजीवी’ को कृति ‘जीवनयात्राका अनुभूतिहरु’ को विमोचन गरिएको छ । मंगलबार पूर्वी नवलपुरको गैंडाकोट नगरपालिका वडा नंं. १५ स्थित अमरापुरीमा एक कार्यक्रमको आयोजना गरी ज्येष्ठ साहित्यकार एवं कवि सापकोटाको कृति विमोचन गरिएको हो । ३६ वटा अनुच्छेदमा रहेको कृतिमा जिवनका दार्शनिक अनुभूति तथा देशप्रेमका भावना समेटिएको छन् । जीवनकालमा औपचारिक शिक्षा नै नलिइकन अनौपचारिक शिक्षामात्र लिएका साहित्यकार सापकोटा भारतको आसाम गौहाटीमा जन्मिनुभइ गैंडाकोट १५, अमरापुरी बस्दै आउनुभएका ८० वर्षीय स्रष्टा हुनुहुन्छ । 

विगतदेखि नै साहित्यक क्षेत्रमा कलम चलाउँदै आउनुभएका सापकोटाको पहिलो कृतिकारुपमा आज अमरापुरीमा ‘जीवनयात्राका अनुभूतिहरु’ संस्मरण कृति बिमोचन गरिएको हो । उहाँको वरिष्ठ साहित्यकार एवं विरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका नेपाली विभागिय प्रमुख कपिल अज्ञातले विमोचन गर्नुभएको हो । 

बिमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि कपिल अज्ञातले कृतिकार सापकोटाले कोइलाको खानीबाट हिरा निकालेको भन्दै बिमोचित कृति मानव जीवनका लागि उपयोगी रत्न रहेको धारणा राख्नुभयो । कृतिकारले साहित्यका माध्यमबाट सफलता माथिको पनि सफलता हासिल गरेको धारणा राख्दै दुःखले साहित्य जन्माएका एउटा उदाहरणका रुपमा यस कृतिलाई लिएको बताउनुभयो । 

कार्यक्रममा प्राध्यापक केदार खनाल तथा सह–प्राध्यपक डाक्टर मतिप्रसाद ढकालले कृतिमाथि विवेचना गर्नुभएको थियो । सोही अवसरमा प्राध्यापक खनालले बोल्दै सापकोटाको कृति जीवन दर्शनसँग सम्बद्ध एक उत्कृष्ट कृति रहेको टिप्पणी गर्नुभयो । यस्तै सह–प्राध्यापक डाक्टर ढकालले जीवनका दार्शनीक अनुभूति र देशप्रेमको भावना समेटिएको कृतिमा मुलुकप्रतिका स्नेह र संवेदनशिल विषयवस्तु समेटिएको टिप्पणी गर्नुभयो । 
कार्यक्रममा मन्तब्य राख्दै प्राध्यापक रमाकान्त सापकोटाले पुस्तकले कृतिकार सापकोटालाई समूदायमा एक सफल स्रष्ठाकारुपमा परिचित बनाएको भन्दै बधाइँ ज्ञापन गर्नुभयो । 

सोहीक्रममा करिब १२ जना कवि तथा साहित्यकारहरुले आफ्नो कविता वाचनसमेत गर्नुभएको थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार गोविन्दराज विनोदी, प्राध्यापक केदारनाथ खनाल, सह प्राध्यापक डाक्टर मतिप्रसाद ढकाल, लुम्बिनी बाङ्मय प्रतिष्ठान नवलपुरका सदस्य तेजेन्द्रप्रसाद सापकोटा, कवि इन्द्रराज पौडेल, षडानन्द अभागी, शिवराज लामिछाने, कमल आचार्य, दशरत तिवारी, राधा पाण्डे, सीता सापकोटा र धर्मानन्द पौडेलले कविता वाचन गर्नुभएको थियो । 

त्रिवेणी साहित्य परिषद् नवलपुरको आयोजनामा भएको काब्य गोष्ठी एवं कृति विमोचन कार्यक्रमका अधिकांश कवि एवं साहित्यकारहरुले साहित्यले समाजलाई सही दिशा दिने बारे विचार समेत प्रस्तुत गर्नुभएको थियो । यस्तै वक्ताहरुले साहित्यकार सापकोटाले जीवनको सुख, दुःख र संषर्समय जीवन भोगाइहरु साहित्यको सुन्दर स्वरुपमा पस्किएको बताउनुभएको थियो । 

कार्यक्रमका अध्यक्ष त्रिवेणी साहित्य परिषद् नवलपुरका अध्यक्ष नारायणप्रसाद खनालले परिषद्ले २०४७ सालदेखि नवलपरासीमा स्थापीत भइ स्थापित साहित्यकारको सम्मान, नवोदित साहित्यकारलाई प्रोत्साहनजस्ता कार्य गर्दै साहित्यक क्षेत्रको विकासमा लागि रहेको बताउनुभयो । 


यसैबीच कृतिकार सापकोटाले औपचारिक शिक्षा विना नै आफ्नै मेहेनतले साहित्यक क्षेत्रमा कलम चलाउने गरेकोमा त्यसलाइँ सङ्कलनको प्रयास गरिएको भन्दै सबै साहित्यक स्रष्ठाप्रति धन्यवाद ज्ञापन गर्नुभयो । 

कार्यक्रममा नवलपुरका विभिन्न कवि एवं साहित्यकार, सञ्चारकर्मीलगायत कृतिकार सापकोटाका आफन्तजनको उपस्थिति रहेको थियो । कार्यक्रम कवि तेजेन्द्रप्रसाद सापकोटाको सहजीकरणमा सम्पन्न भएको थियो । 




No comments:

Post a Comment

Post Bottom Ad