खेलकुदले बच्चाको पढाईमा असर गर्दैन बरु क्षमता विकास गर्छ - समृद्धि खबर

Pages

Breaking

Sunday, December 1, 2019

खेलकुदले बच्चाको पढाईमा असर गर्दैन बरु क्षमता विकास गर्छ

काठमाडौं, १५ भाद्र ।


‘खेल्यो भने पढार्ई बिग्रन्छ’ , भन्ने पुरातन मान्यतामा अहिल व्यापक परिवर्तन आएको छ । अघिल्लो पुस्तासम्म ‘खेलकुदले पढाईमा बाधा पुग्छ’ भन्ने सोचिन्थ्यो । त्यही कारण बच्चालाई सकेसम्म खेलकुदमा लगाउने होइन, बरु पढाईमा जोड दिने गरिन्थ्यो ।

यद्यपी विगतमा बच्चाहरुले खेल्ने अनुकुलता भने पाए । मनोरञ्जनको माध्याम भनेकै खेल थियो । खेलमा पनि, घरबाहिरको खेल । फुटबल, भलिबल, ब्याडमिन्टन, क्रिकेट । त्यसाबाहेक, डुम–राजा, चोर–पुलिस, डन्डिबियो जस्ता थुप्रै खेलमा बच्चाहरु अभ्यस्त थिए ।

अहिलेका बच्चाहरुलाई भने यस्तो अनुकुलता छैन । उनीहरु खेल्न त खोज्छन् , तर साथी छैनन् । खेल्न त खोज्छन् , तर मैदान छैन । खेल्न त खोज्छन्, तर बुवाआमा राजी छैनन् ।

निगरानी होइन, नियन्त्रण

अहिले धेरै दम्पतीका एकल सन्तान छन् । एक्लो बच्चा भएपछि सबैको माया त्यही बच्चामा केन्द्रित हुन्छ । मायाको नाममा हामी निगरानी गरिरहेका हुन्छौं । बच्चालाई गर्न दिने भन्दा नगर्न दिने कुराको सूची लामो बनाइरहेका हुन्छौं । यसो नगर, उसो नगर भनेर उनीहरुलाई धेरै कुरामा बन्देज लगाउँछौं, ताकि आफ्नो छोराछोरी कुनै जोखिममा नपरोस् ।

  • बाहिर दौडन लाग्यो भने हामी कराउँछौ, ‘नकुद, बिस्तारै हिँड । लडिन्छ ।’
  • अरु बच्चासँग खेल्न थाल्यो भने हामी भन्छौं, ‘अलग अलग खेल, नभए झगडा गर्छौं ।’
  • कुनै काम गर्न लाग्यो भने हामी भन्छौ, ‘अहो, नगर । तिमीले जान्दैनौ ।’
  • बच्चालाई यसरी निगरानी गर्छौ, जसले उनीहरु कुनै बधुवा पशुजस्तै हुन् । उनीहरुले आफुखुसी केहीपनि गर्न पाउँदैनन् । हरेक काममा आमाबुवाको नियन्त्रण रहन्छ ।
  • बच्चाको रेखदेख गर्ने नाममा आमाबुवाले उनीहरुलाई बाहिर जान दिदैनन् । घरभित्रै खेल्न छाड्छन् ।  ल्यापटप, मोवाइलमा खेलेपछि बच्चाहरु सुरक्षित हुन्छन् भन्ने मनासय हुन्छ ।



भिडियो गेमको लत

घरबाहिर जान नपाएपछि बच्चाहरु घरभित्रकै खेल खेल्छन् । घरभित्रको खेल खेल्नका लागि उनीहरुसँग साथी हुँदैन । आफ्ना दौतरी हुँदैनन् । आमाबुवाले बच्चा जस्तो खेलिदिदैनन् । यस्तो अवस्थामा उनीहरुलाई मोवाइल, ट्याबमा खेल खेल्नुपर्ने बाध्यता हुन्छ ।
हुन त, यस्ता खेलहरुले पनि उनीहरुमा केही न केही फाइदा त गर्छ । यस्ता खेलहरुले सिघ्र निर्णय क्षमता बढाउँछ । धैर्यवान् बन्न सिकाउँछ । साथसाथै चलाख पनि बनाउँछ ।
तर, घरभित्र खेलिने यस्ता भर्चुअल खेलको फाइदाभन्दा बढी बेफाइदा छ । मूलत यस्ता खेलले बच्चालाई केही कुरामा प्रत्यक्ष असर गर्छ ।

  • १.) यस्ता खेलले बच्चालाई एक्लो बनाउँछ । उनीहरु समूहमा घुलमिल हुँदैनन् ।
  • २.) शारीरिक रुपमा निस्क्रिय हुन्छन् । उनीहरुको शारीरिक विकासमा अवरोध पुग्छ ।
  • ३.) त्यस्ता डिभाइसबाट आउने विकिरणले आँखालगायत अंगमा क्षतिरहानी पुग्छ ।
  • ४.) मोवाइल, ल्यापटपमा खेल खेल्दा खेल्दै उनीहरु नराम्रा (अनुपयोगी)  सामाग्री हेर्न पुग्छन् ।
  • ५.) खेलकुदबाट हुने सर्वाङ्गीण विकासमा अवरोध पुग्छ ।




किन घरवाहिरको खेलमा प्रेरित गर्ने ?

खेल्नु र पढ्नुको ध्येय उस्तै हो । किताब पढेर जे सिक्छन्, खेलेर पनि उनीहरुले जीवनोपयोगी कुरा सिक्छन् । तर, हामीलाई के लाग्छ भने, खेलले पढाई बिगार्छ । वा, पढाईमा बाधा गर्छ ।
तर, खेलले पढाईमा बाधा गर्ने होइन बरु सहयोग पुर्याउँछ । कसरी ?

पढ्नुको उदेश्य स्वस्थ्य जीवन(यापन गर्नु पनि हो । हामीले पाठ्युपुस्तकमा पढेका छौं, स्वस्थ्य हुनुपर्छ । तन्दुरुस्त हुनुपर्छ । नेतृत्व क्षमता हुनुपर्छ । आत्माविश्वास बढाउनुपर्छ ।
वास्तवमा पाठ्यपुस्तकले सिकाउने यी कुरा व्यवहारिक रुपले खेलकुदबाट सिक्न पाइन्छ । त्यसैले बच्चालाई खेलकुदमा प्रेरित गर्नुपर्छ ।

खेलकुदले बच्चालाई के(कस्ता कुरामा सक्षम बनाउँछ ? कसरी उनीहरुको सर्वाङ्गिण विकासमा सहयोग गर्छ ? अनलाइनखबरले बुँदागद रुपमा खेलकुदको फाइदाबारे जानकारी पेश गरेको छ ।
स्वस्थ्य र तन्दुरुस्त हुन्छन्

घरबाहिरको खेलले बच्चाको शारीरिक विकासमा खास सहयोग गर्छ । उफ्रिने, दौडने, तन्कने, खुम्चने जस्ता गतिविधिले उनीहरुको शारीरिक व्यायाम हुन्छ । यसले समूचित ढंगले उनीहरुको शारीरिक विकास हुन पाउँछ ।
खेल खेल्दा बच्चा शारीरिक रुपमा तगडा, बलियो, फुर्तिलो, स्वस्थ्य हुन्छन् ।

बौद्धिक क्षमता बढ्ने

जब शरीर स्वास्थ्य हुन्छ, त्यसको प्रभाव उनीहरुको मस्तिष्कमा पनि पर्छ । किनभने यो शरीरकै एक अंश हो । निरोगी, फुर्तिलो एवं तन्दुरुस्त बच्चाले कुनैपनि कुरा राम्ररी ग्रहण गर्न सक्छन् ।

समूहमा खेल्ने र मिल्ने भावनाको विकास

जब बच्चाहरु आफ्ना दौतरीसँग खेल्न थाल्छन्, यसले उनीहरु एकअर्कासँग खेल्न, मिल्न, रमाउन सिक्छन् । सामूहसँग घुलमिल हुन सक्छन् । यसले उनीहरुमा कुनैपनि कुरा साझेदार गर्न, मिलिजुली समस्याको हल निकाल्न सक्ने क्षमताको विकास हुन्छ ।
यसले टिमको भावना पनि विकास गर्छ । अर्थात टिमवर्कको । खेलमा एक्लो प्रयासले मात्र पुग्दैन । आफ्नो समूहसँग उचित तालमेल मिलाउनुपर्ने हुन्छ । यसले उनीहरुमा टिमवर्कको भावना विकास हुन्छ ।

अनुशासन सिक्छन्

कुनैपनि खेलकुदले सिकाउने मूल कुरा हो, अनुशासन । खेलकुदको आफ्नो नियम, परिधी र समयसीमा हुन्छ । त्यस्ता नियम, परिधी र समयसिमा भित्र रहेर प्रतिस्पर्धा गर्नुपर्छ । यसले उनीहरुमा अनुशासनको भावना विकास हुन्छ । कुनैपनि काम गर्दा त्यसको मर्यादा र समयसीमाको ख्याल गर्ने बानीको विकास हुन्छ ।


प्रतिस्पर्धाको भावना विकास

खेलकुदले प्रतिस्पर्धाको भावना विकास गर्छ । आफ्ना प्रतिस्पर्धीलाई उछिन्नका लागि अनेक प्रयास गरिन्छ । प्रतिस्पर्धीलाई उछिनेर सफल हुने दौडले स्वस्थ्य प्रतिस्पर्धाको भावना विकास गर्छ ।

श्रमको महत्व सिकाउँछ

कुनैपनि खेलमा शारीरिक सक्रियता, बल, क्षमताको भरपुर प्रयोग हुन्छ । खेलकुदमा सफलता प्राप्त गर्नका लागि श्रम गर्न पर्छ । पसिना बगाउनु पर्छ । यसले श्रमको महत्वलाई बुझाउँछ ।

हार स्विकार्न सिकाउँछ

जीवनमा सधै जित हुँदैन । जीवनमा सधै सोचेजस्तो सफलता मिल्दैन । यस्तो कुराले हामीलाई हतोत्साही गर्छ । तर, खेलकुदमा लाग्नेहरुले हारलाई पनि सहज रुपमा पचाउन सक्छन् । खेलकुदमा हार र जित हुनु स्वभाविक हो । जब हार हुन्छ, त्यसलाई कसरी स्विकार्ने भन्ने कुरा खेलकुदले नै सिकाउँछ ।

समय व्यवस्थापनको ज्ञान

हरेक खेलको आफ्नै समयसीमा हुन्छ । खेल भनेकै निश्चित समयसीमाभित्र कुनै उपलब्धी हासिल गर्नु हो । यस किसिमको अभ्यासले बच्चाहरुमा समय व्यवस्थापनको व्यवहारिक ज्ञान पनि आर्जन हुन्छ ।




No comments:

Post a Comment

Post Bottom Ad