जनप्रतिनिधि सुविधाभोगी बनिरहेका बेला गैंडाकोटका एक वडा अध्यक्षले गरे नमुना काम - समृद्धि खबर

Pages

Breaking

Friday, July 26, 2019

जनप्रतिनिधि सुविधाभोगी बनिरहेका बेला गैंडाकोटका एक वडा अध्यक्षले गरे नमुना काम

आफ्नो पारिश्रमिक, सामाजिक काममा सहयोग हस्तान्तरण



गैंडाकोट, १० श्रावण ।  गैंडाकोट नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष गोबद्र्धन ज्ञवाली (गणेश) ले आफ्नो एक वर्षको पारिश्रमिक विभिन्न सामाजिक क्षेत्रमा सहयोग गरेका छन ।  वडा अध्यक्ष ज्ञवालीले शुक्रबार, आफ्नो पारिश्रमिक वापत्को एक लाख २० हजार रुपैयाँ बराबरको सहयोग प्रदान गरेका हुन । 

उनले गंैडाकोट वडा नंं. १७ मा स्थित अमरज्योती माविमा औपचारिक कार्यक्रमको आयोजना गरी सोहि विद्यालयलाई ४५ हजार रुपैयाँ बराबरको एक थान कम्प्युटर हस्तान्तरण गरे । यस्तै गरी उनले वडामा रहेको अमरापुरी स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर स्थापना गर्न भन्दै नगद ४०–हजार रुपैयाँ, अमरापुरी बर्थिङ्ग सेन्टर आमा समूहकी अध्यक्ष लक्ष्मी सापकोटालाई हस्तान्तरण गरेका हुन । यस्तै वडा कार्यलय नजिकै रहेको दुर्गा मन्दिरका लागि पंखालगायतका विभिन्न सामग्री सहयोग गरेका छन । उक्त सामाग्री मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण पाण्डेलाई हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले जनताको करबाट सङ्कलन गरेको रकम जनताकै लागि खर्च गर्ने सोच रहेको हँुदा सामाजिक काममा सहयोग गरेको बताए । ‘ जनताका लागि काम गर्छु भनेर चुनिएका जनप्रतिनिधिहरुले जनताकै करबाट संकलन गरेको रकम तलबका रुपमा लिनुहुदैन भन्ने मेरो मान्यता छ । कार्यपालिका वैठकमा पनि मैले पटक पटक यो कुरा उठाए तर अन्य जनप्रतिनिधीहरु मानेनन् ,  म एक्लै भए । तर मैले पाएको पारिश्रमिक सामाजिक काममै खर्च गर्छु भन्ने अठोट गरेको छु । ’ ज्ञवालीलले भने ।

अध्यक्ष ज्ञवालीले गत वर्ष पनि विभिन्न सामाजिक क्षेत्रमा पारिश्रमिक सहयोग गरेका थिए । उनले आफ्नो पारिश्रमिक आफ्नी दिवङ्गत छोरी विस्विता ज्ञवालीको नाममा सहयोग गर्दै आएका छन् । विस्विताको चार वर्ष अघि नारायणी नदिमा सेल्फी खिच्न खोज्दा डुबेर मृत्यु भएको थियो । छोरीलाई डाक्टर बनाउने सपना बोकेका उनले छोरी जिवित नभए पनि उनको पढाई खर्चमा लाग्ने रकमका रुपमा आफ्नो पारिश्रमिक सामाजिक काममा सहयोग गर्ने सोच बनाएको बताए । आगामी वर्षको पारिश्रमिकले अक्षय कोष खडा गर्ने योजना बनाएको समेत उनले जानकारी दिए ।


वडा नम्बर १६ मा एउटा पनि सामुदायिक विद्यालय नभएकाले वडा नंं.  १७ मा रहेको अमरज्योती माविलाई उनले सहयोग गरेको बताए । विद्यालय स्थापना गर्न आफुले पनि रगत पसिना बगाएको हुँदा सहयोग पनि गरेको उनको भनाई छ । वडा अध्यक्ष ज्ञवालीको कार्यलाई स्थानीय समाजसेवी, बुद्धिजिवीले प्रशंसनीय कार्यका रुपमा स्वागत गरेका छन् । निर्वाचनका बेला सुबिधा नलिईकन सेवा गर्ने प्रतिबद्धता अनुरुप सो कार्य भएको भन्दै अब नगरपालिकाका सबै जनप्रतिनिधिले समेत ज्ञवालीको सिकाई गर्नुपर्ने प्रतिक्रिया दिएका छन् ।

कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हिरालाल सापकोटाको अध्यक्षता तथा १६ का वडा अध्यक्ष ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा वडा सदस्यहरु, स्थानीय समाजसेवि, बुद्धिजीवी , विद्यालयका प्रधानाध्यापक दूर्गादत्त सापकोटालगायतको सहभागिता रहेको थियो ।

यसैबिच सोहि कार्यक्रममा विद्यालयका जेहेन्दार तथा विपन्न १ सय ३९ जना छात्रछात्रालाई छात्रवृत्तिसमेत प्रदान गरिएको थियो ।




No comments:

Post a Comment

Post Bottom Ad